भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौँ –भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फिर्ता गरिएको छ।

एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना कुवेत जान लागेका ती महिलालाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भारतीय सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको हो। त्यसपछि स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही ल्याइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको नेतृत्वमा दूतावासका कर्मचारीको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएको थियो। हाल महिलाहरूलाई प्रहरीले काठमाडौँ ल्याइरहेको जनाइएको छ।

यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिएको बताइएको छ। गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई कडा अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर