आज देशभर पानी पर्ने, सतर्कता अपनाउन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै सिमसिम वर्षा जारी छ। अहिले पनि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा पानी परिरहेको छ। आज तीज पर्व मनाउने तयारीमा रहेका महिलालाई वर्षाले समस्या गर्ने सम्भावना छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित खवर