मेलम्ची नगरप्रमुख आइतमान तामाङले स्थानीय सम्पदा र संस्कृति समुदायकै पहिचान तथा धरोहर भएकाले यसको संरक्षण भावी पुस्ताका लागि अत्यावश्यक रहेको बताएका छन् । युनेस्को नेपालले मेलम्चीमा आयोजना गरेको सम्पदा संरक्षण सम्बन्धी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख तामाङले स्थानीय पाठ्यक्रम मार्फत मेलम्चीको सम्पदा र सांस्कृतिक ज्ञान विद्यालय तहसम्म पुर्याउने प्रयास अघि बढाइएको जानकारी दिनु भएको थियो।
उहाँको भनाइमा, सम्पदा केवल भौतिक संरचना मात्र होइन, समुदायको आत्मा हो । त्यसैले आगामी पुस्ताले यसको मूल्य बुझून् र गर्व गर्न सकून् भन्ने उद्देश्यले संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनु भयो। उपप्रमुख उमा प्रधानले यस्ता कार्यक्रमहरूले समुदायमा सम्पदाप्रतिको अपनत्व, जिम्मेवारी र संरक्षण चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

उनको अनुसार, स्थानीय सहभागिताबिना कुनै पनि संरक्षण प्रयास दिगो हुन सक्दैन, त्यसैले यस्ता पहल निरन्तर हुन आवश्यक रहेको बताउनु भयो। कार्यक्रम युनेस्को नेपालकी सचिवालय सचिव डा. दिव्या दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमले मेलम्ची क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय तह, शिक्षा र अन्तर्राष्ट्रिय संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको आयोजकहरूले जनाएका छन् ।





