नेपाल कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अहिलेको समस्या समाधानका लागि कांग्रेस नै अग्रसर बन्नुपर्ने खाँचो औंल्याउँदै एमालेबाट सम्भव नहुने बताएका छन्।
एमालेले अहिलेको समस्या समाधान गर्न र मुलुकको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेबीचको चरित्र नै फरक भएको टिप्पणी गरेका हुन्।

केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्दै थापाले एमालेभन्दा कांग्रेस किन भिन्न हो भन्ने आफ्नो तर्क पेस गरेका हुन्।
महामन्त्री थापाका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनपछिको अवस्थामा मुलुकका अघि मुख्यतः तीन विकल्प छन्।
‘पहिलो ध्रुवीकरण अझै बढ्ने, थप हिंसा बढ्ने,’ उनले भने, ‘दोस्रो भदौ २३ गते भन्दा अगाडिको केही सामान्य टालटुल भएर जाने।’
थापाले यी दुइटै कुराले नेपाललाई अगाडि बढ्न नदिने ठहर सुनाउँदै थपे, ‘हामी तेस्रो बाटोमा जानुपर्छ। तेस्रो बाटो भनेको अहिलेको असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्दै त्यसलाई सम्हाल्दै यो संविधानलाई पनि जोगाउँदै , प्रणालीलाई पनि जोगाउँदै जानुपर्छ र यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ अरू कसैले गर्न सक्दैन।’
महामन्त्री थापाले अगाडि भने, ‘नेकपा एमालेले त सक्दैन। एमालेको यस्तो चरित्र नै होइन। एमालेले उत्तेजना फैलाउन सक्ला। तर, अहिलेको समस्या समाधान गर्न सक्दैन।’





