सिन्धुपाल्चोक –बासी खाना खुवाएको आरोपमा आफ्नै भान्छेलाई निर्घात कुटपिट गरी सेवाबाट अवकाश दिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काजमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलको फेरि त्यहीँ सरुवा भएको छ।
साउन २२ गते डीएसपी खरेल र प्रहरी निरीक्षक रुपेश शाहाले कार्यालय सहयोगी शंकर कार्कीलाई कुटपिट गर्दै तीन दिन हिरासतमा राखेर सेवाबाटै बर्खास्त गरेका थिए। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीमा खरेललाई पुनः सिन्धुपाल्चोकमै कायम गरिएको हो।

वैशाख २४ गते सिन्धुपाल्चोक आएका खरेलले तीन महिनामा पाँच भान्छे फेरेका छन्। जिल्ला प्रहरी स्रोतका अनुसार, खानेकुरामा सन्तुष्ट हुन नसक्ने खरेलसँग कुनै भान्छे लामो समय टिक्न सक्दैनन्। लसुन–प्याज नखाने भएकाले डीएसपीका लागि छुट्टै र अन्य निरीक्षकका लागि अलग भान्सा व्यवस्थापन गरिएको छ।
कुटपिटमा परेका कार्कीले आफू न्यायका लागि हेटौँडा जाने बताएका छन्। घटनामा मुछिएका खरेललाई पुनः त्यहीँ राखिएकोमा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले आश्चर्य व्यक्त गर्दै कारबाहीको माग गरेका छन्।






